भोलिबाट गाडी चल्ने कुरा सत्य होइन: यातायात व्यवसायी महासंघ

होमल्याण्ड खबर

२०७७ श्रावण ४ गते, आईतवार १५:५८ मा प्रकाशित

काठमाडौं- नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भोलिबाट सार्वजनिक सवारी साधन चल्ने कुरा निराधार रहेको बताएका छन्। यद्यपि उनले सुचारु गर्ने विषयमा छलफल भने भइरहेको बताए।

आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई उदृत गर्दै सोमबारबाट सार्वजनिक सवारी साधन सुचारु हुने समाचार बाहिर आएका थिए। महासंघका महासचिव सिटौलाले कोरोना भाइरसको महामारीबीच यातायात सञ्चालन गर्ने कार्यविधिमा छलफल भइरहेको बताए।

‘यातायात मजदुरको सुरक्षा, यात्रुको सुरक्षासहित कोरोना भाइरसको महामारीबीच कुन तरिकाले यातायात सञ्चालन गर्ने भन्नेबारे कार्यविधिमा छलफल भइरहेको छ। यातायात सञ्चालन हुने पक्का भएपछि हामी आफै पत्रकार सम्मेलन गरेर जानकारी दिने छौँ’, महासचिव सिटौलाले भने।

सरकारले गत असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीले काम सुरु गरेका छैनन्।

सिटौलाले स्वास्थ्य सुरक्षाको विषय मात्र सम्बोधन हुन बाँकी रहेको बताए।