११ जेष्ठ २०८३, सोमबार
काठमाडौं- मंगलबार बिहानदेखि नै केही दिनदेखिको निरन्तर बर्षाले काठमाडौं चिसिएको थियो। सडकमा सवारीसाधन सामान्य मात्रामा नै थिए। तर बिहान ११ बजेतिर बालुवाटार सडकमा एकाएक जाम बढ्यो। कारण थियो अस्ट्रिच। बिहानदेखि लगातार वर्षा भइरहेको सडकमा अस्ट्रिच अतालिएर कुदिरहेको थियो। सडकमा यता उता गरिरहेको अस्ट्रिचले गाडीहरु रोकिए। केही गाडीले अनावश्यक हर्न बजाउँदा अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरह्यो।
गाडी र मोटरसाइकलमा रहेकाहरु सवारी छेउ लगाएरै अस्ट्रिच हेर्न थाले। धेरैले रमिते बनेर मोबाइलमा दृश्य कैद गर्न थाले जसले सडकमा जामको अवस्था झनै बिग्रियो। स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको बताए। पछिल्लो समय नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालन नै भइरहेका छन्।

