११ जेष्ठ २०८३, सोमबार
सप्तरी। जिल्लामा बुधवार थप १४ जना नयाँ संक्रमित फेला परेसँगै सदरमुकाम राजविराज नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले राजविराजमा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि गरेको हो । कार्यालयका प्रमुख दुनीयाँलाल यादवले बुधवार राजविराज १३ सहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ । उहाँका अनुसार राजविराज–२ का ३१ वर्षीय पुरुष, वडा नम्वर ३ का २३, ६३ र ३२ वर्षीय पुरुष, वडा नम्वर ६ का ४० र ४३ वर्षीय पुरुष तथा ३२ र ३६ वर्षीया महिला तथा वडा नम्वर ७ का २० वर्षीय पुरुष तथा ४०, १७, १५ र १५ वर्षीया महिलामा संक्रमण देखिएको छ ।


यसैगरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका–१ का एक पुरुषमा संक्रमण देखिएको प्रमुख यादवले जानकारी दिनुभएको छ । समुदायस्तरमा संक्रमण पुष्टि भएसँगै कोरोना नियन्त्रण तथा रोकथामका निम्ति थप निर्णय गर्न बैठक बस्ने तयारी गरिएकाे जनाएको छ ।