श्रीमती हत्या गरेर जेल परेका पूर्व डिआइजी सर्वोच्चको आदेशमा रिहा

होमल्याण्ड खबर

२०७७ श्रावण ८ गते, बिहीबार १४:५२ मा प्रकाशित

काठमाडौं । श्रीमती हत्या अभियाेगमा जेलमा रहेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला कैद भुक्तन नहुँदै छुटेका छन् । पूर्व डिआइजी कोइराला कैद भुक्तन नहुँदै सर्वोच्च अदालतको आदेशमा  बिहीबार जेल मुक्त भएका हुन् ।

कोइरालालाई श्रीमती हत्या अभियोगमा जिल्ला अदालतले ८ वर्ष अघि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना कायम गरेपछि उनी जेल मुक्त भएका हुन् ।

श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको भनेको छ । श्रीमतीको हत्यापछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएको भन्दै सजाय घटाइएको छ ।

नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका बेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन शव पालुङमा लगेर जलाएका थिए ।

श्रीमतीको शव जलाएपछि त्यसले उनलाई समेत पोलिरह्यो । शव जलाएर फर्केपछि पनि  उनी दोस्रो पटक फेरि त्यस ठाउँमा हेर्न गए । त्यसबीचमा उनीमाथि पत्नी हत्याको उजुरी परिसकेको थियो । उजुरी परे लगत्तै प्रहरीले उनको निगरानी थालिसकेको थियो । श्रीमतीको शव जलाएको ठाउँ नियाल्दै टोलाइरहेको अवस्थामा  २०६८ साल माघ २८ गते कोइराला पक्राउ परेका थिए । कोइराला नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।