११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले शुरु गरेको पत्रकार आपतकालीन राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । शाखाका अध्यक्ष शन्तराम बिडारीका अनुसार विभिन्न दीर्घ रोगसँग लडिरहेका जेष्ठ पत्रकारहरुको सहयोगका लागि शाखाले सुरुवात गरेको कोषमा रकम जम्मा हुने क्रम जारी छ ।
कोषमा आइतबार २० हजार रुपैयाँ जम्मा भएको अध्यक्ष बिडारीले जानकारी दिनुभयो । झिल्को डट्कम र वाङ्ला पब्लिक सेफ्टी ट्रेनिङ सेन्टरले कोषमा दश/दश हजार रुपैयाँ सहयोग हस्तान्तर गरेको बिडारीको भनाइ छ ।


झिल्को डट्कमका कार्यकारी सम्पादकद्वय कृष्ण लेकाली र सूर्य सुवेदीले अध्यक्ष बिडारीलाई रकम हस्तान्तरण गर्नुभएको थियो । शाखाको कार्यालय भृकुटी मण्डपमा भएको कार्यक्रममा झिल्को डट्कमका कार्यकारी सम्पादक फणीन्द्र फुयाल र प्रवन्ध सम्पादक उदय भट्टराईले विपद्मा परेका पत्रकारहरुको सहयोगका लागि स्थापना गरिएको कोषमा आगामी दिनमा पनि साथ र सहयोग निरन्तर रहिरहने विश्वास दिलाउनुभयो ।
त्यस्तै वाङ्ला पब्लिक सेफ्टी ट्रेनिङ सेन्टरका भरत आचार्यले कोषमा दश हजरा रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभयो ।
‘काठमाडौं शाखा अन्तर्गत ६६ वर्षभन्दा माथिका सत्तरी जना पत्रकार सुगर, प्रेसर, मृर्गौलालगायत कुनै न कुनै दीर्घ रोगबाट पीडित पत्रकार हुनुहुन्छ’, अध्यक्ष बिडारीले भन्नुभयो, ‘पीडित पत्रकारहरुको सहयोगका लागि यो कोषको सुरुवात गरिएको हो ।’ केही पीडित पत्रकारलाई सहयोग गरिसकेको बिडारीको भनाइ छ ।
शाखाका उपाध्यक्ष सूर्य सुवेदीका अनुसार स्वस्फुर्त रुपमा कोषमा आर्थिक सहयोग भइरहेको छ ।