११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको हुनाले पुनःमनसुन सक्रिय भएको हो।’
सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ८.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।