९ मंसिर २०८१, आईतवार
काठमाडौँ, उच्च अदालत पाटनले तत्कालका लागि रेलवेको पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शान्ता सेढाईं सापकोटाको इजलासले आगामी २६ गतेसम्मका लागि टेन्डरसम्बन्धी काम यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।
‘बोलपत्र सूचना र सो सम्बन्धमा भए गरेका सम्पूर्ण निर्णय तथा कामकारबाही हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ । तेजकुमार कुरुम्बाङले मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । उनले सीमित ठेकेदारलाई मात्रै लाभ हुने गरी टेन्डर आह्वान भएकाले त्यसको खारेजीको माग गरेका थिए । उच्च अदालत पाटनले सरकारी पक्षको लिखित जवाफ पनि मागेको छ ।
अदालतको आदेशबमोजिम काम स्थगित हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘यो अदालती प्रक्रियामा गयो, अब जे फैसला गर्छ त्यहीअनुसार अघि बढ्नेछौं,’ उनले भने, ‘मैले न्याय निरूपण गराएपछि मात्र ठेक्का गर्छु भनेको पनि थिएँ ।’ अदालतमा पुगेकाले यसको टुंगो चाँडै लाग्ने उनको भनाइ छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।