आज गाईजात्रा पर्व, दिवंगत व्यक्तिको सम्झनामा मनाइँदै

होमल्याण्ड खबर

२०७७ श्रावण २० गते, मंगलवार ११:५७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरहरुमा आज परम्परागत गाईजात्रा पर्व मनाइँदैछ । यस पर्वमा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा घरघरबाट गाईलाई सिँगारी वा गाईको प्रतीक बनाई टोलटोलमा परिक्रमा गराएर गाईजात्रा मनाउने चलन छ ।

सनातन संस्कृतिमा गाईलाई वैतरणी नदी तार्ने र पितृउद्धार गर्ने पवित्र प्राणीको रुपमा पूजा गरिन्छ । गाईजात्रा वा सापारु पर्व विशेष गरी नेवारी समुदायको महत्वपूर्ण पर्व हो । गाईजात्रामा भजनकीर्तन, नाचगान, हास्यव्यङ्ग्य पनि गर्ने परम्परा छ ।

काठमाडौंका प्रसिद्ध राजा प्रताप मल्लकी पत्नी पुत्रशोकमा परी विह्वल भएपछि आफूलाई मात्र होइन अरुलाई पनि यस्तै पीर परेको छ, दुनियाका घरमा पनि मानिस मरेका छन् भनेर सम्झाउन दिवंगत व्यक्तिका नाममा गाई जात्रा निकाल्न लगाएको ऐतिहासिक कथन छ । यतिले मात्र पनि रानीको मन शान्त नभएपछि गाईजात्रामा सहभागी हुनेले हसाउने प्रहसन गर्ने अनेक थरीका लुगाफाटो लगाई ठट्यौली गर्न पनि राजा प्रताप मल्लले अह्राएको बताइन्छ । त्यही प्रथाले आज गाईजात्रा पर्वको रुप लिएको संस्कृतिविदहरु बताउँछन् ।

अहिले पनि काठमाडांैका गल्लीबाट जात्रा निकालेर हनुमानढोका हुँदै लैजाने चलन छ । काठमाडाैं हनुमानढोका दरबारक्षेत्र ललितपुरको पाटन र भक्तपुरमा पनि गाईजात्रा मनाइन्छ ।

यसका साथै दोलखा, बनेपा, धुलीखेल, खोटाङ, भोजपुर, चैनपुरधरान, नारायणगढ, पोखरा, तानसेनलगायतका शहरमा पनि गाईजात्रा मनाउने चलन छ । जनैपूर्णिमाको भोलिपल्टदेखि शुरु हुने गाईजात्रा आठ दिनसम्म मनाउने गरिन्छ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइन्छ । यस वर्ष भने कोरोना संक्रमणबाट उत्पन्न महामारीका कारण गाई पर्व प्रभावित भएको छ ।