उपत्यकामा आजदेखि १५ दिन ‘सट डाउन’

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार ०८:३५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि आजदेखि १५ दिनका लागि सट डाउन हुने भएको छ । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनको निर्णय गरेको हो ।

बैंठकले आइतबारदेखि लागु हुनेगरी १५ दिनको लागि सट डाउनको निर्णय गरेको थियो । सट डाउन अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवाहरु तत्कालका लागि बन्द हुने भएका छन् । प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।