नेपालगञ्ज सिल, हिँडडुल निगरानीमा सेना परिचालन

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १४:३१ मा प्रकाशित

बाँके । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगंज सिल गरिएको छ । नेपालगंज बजार जिल्ला प्रशासनले शनिबार रातिदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि सिल गरेको हो ।

जिल्ला प्रशासनले सिल गरेको क्षेत्रमा नेपाली सेनाले निगरानी गर्ने भएको छ । नेपाली सेनाको टोलीले सिल गरिएको क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ । सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा स्वयं खटिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगंज सिल गर्ने निर्णय गरेको हो । नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको ४ किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल भएको छ ।

सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा क्षेत्र सिल गरेको जानकारी दिइएको छ ।