१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । भारतलगायत विदेशबाट नेपाल फर्किनेहरुका कारण कोरोनाको जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमै परीक्षण गरेर क्वारेन्टिन गर्ने तयारीमा लागेको छ । सरकारले ४ महिना लामो लकडाउन यही साउन ६ गते अन्त्य गरेर केही खुकुलो पारेपछि नेपालमा कोरोना संक्रमण र मृत्यु ह्वात्तै बढेपछि त्यसको तयारीमा लागेको हो ।
कोभिड–१९ महामारी व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०का सदस्य सचिब महेन्द्र गुरागाईँले कोरोनाको जोखिम बढेकाले त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा छलफल चलिरहँदा सीमा नाकामै परीक्षण गर्ने तयारीमा लागेको बताए ।‘खासमा बाहिरबाट आएकाहरुका कारण जोखिम बढेको पाइएको छ। त्यसैले सीमा क्षेत्रमै परीक्षण गरेर क्वारेन्टिन गर्नेकी भन्ने पनि छ। विदेशबाट नेपाल फर्किनेहरुलाई नआउ भन्न सकिँदैन। तर, भारतमा कोरोनाको संक्रमण बढेकाले जोखिम बढेको छ,’ उनले भने ।


हाल भारतमा औसत दैनिक ५० हजार नयाँ संक्रमित फेला पर्ने गरेका छन्। गएको चैत ११ मा सरकारले नेपालमा लकडाउन घोषणा गरेपछि भारतबाट घर फर्किनेहरुको संख्या निकै बढेको थियो। पछिल्ला दिनहरुमा यसरी भारतबाट फर्किनेहरुको संख्या कम भए पनि जोखिम भने बढेको छ। ‘पहिला जति त होइन, अहिले पनि भारतबाट औसत रुपमा दैनिक एकहजार नागरिकहरु स्वदेश फर्किरहेका छन्। भारतमा जोखिम निकै बढेको छ। त्यहाँबाट आउनेहरुका कारण नेपाल पनि जोखिम बढ्नु स्वभाविकै हो’ सचिब गुरागाईँले भने ।
उनका अनुसार भारतबाट मात्र नभएर नेपालकै कोरोना संक्रमित भएका जिल्लाहरुबाट अन्य जिल्लामा जानेहरुका कारण पनि जोखिम बढेको छ। काठमाडौंमा पछिल्ला दिनहरुमा जोखिम बढ्नुको कारण यही रहेको उनको भनाई छ। पछिल्ला दिनहरुका कुनै ट्राभल हिस्ट्री नभएकाहरु पनि संक्रमित हुन थालेपछि कोरोना समूदाय स्तरमा फैलिएको आशंका गर्न थालिएको छ। सरकार भने कोरोना समूदायमा फैलिएको स्वीकार गर्न तयार छैन। स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु पनि धमाधम संक्रमित भइरहेका छन्।
फ्रन्टलाइनमा खटिनेहरु संक्रमित हुन थालेपछि महामारीको जोखिम झनै बढेको छ। कोरोना महामारी नियन्त्रणका लागि रणनीति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले हालै विज्ञहरुसँग छलफल गरेका थिए। विज्ञहरुले लकडाउन फेरि लगाउने, विशेष क्षेत्रमा निषेधाज्ञा गर्ने, सीमा क्षेत्रमा कडाई गर्नेलगायतका मिश्रित सुझाव दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको सुझाव र सीसीएमसीको सिफारिसमा आवश्यक निर्णय गरिने बताएका थिए।