अब सवारी लाइसेन्समा पनि जोरबिजोर

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १६:२९ मा प्रकाशित

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको छ ।
कोरोना महामारी जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा सवारी चलाउन लगाइएको जोरबिजोर नम्बरको नियम यातायात व्यवस्था कार्यालयले पनि लागू गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले जारी गरेको सूचनाअनुसार सवारीधनीले अब जोर–बिजोर गते आफ्ना सवारीको नम्बरअनुसार नवीकरणको सेवा पाउनेछन् । इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामका लागि पनि जोर बिजोरको नियम लागू हुनेछ ।

यातयात कार्यालयहरुमा भीडभाड बढेपछि नवीकरण र इम्बोस्ड नम्बर प्लेट बाहेक अन्य सेवा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बन्द गरिएको सूचनामा उल्लेख छ । त्यस्तै यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ललितपुरले पनि सोमबारदेखि लाइसेन्सको नवीकरणमा जोर बिजोर प्रणाली लागु गरिने जनाएको छ ।

अब यातायात व्यवस्था कार्यालयका सवारी र लाइसेन्स नवीकरणका कार्यालयहरूले जोर–बिजोर गतेअनुसार आउने सेवाग्राहीलाई मात्रै सेवा दिने सूचनामा उल्लेख छ । नयाँ व्यवस्थाले भीडभाड कम हुन गई संक्रमणको जोखिम कम हुने विभागको अनुमान छ ।