१० जेष्ठ २०८३, आईतवार
काठमाडौ ।लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । अधिवक्ता जयबहादुर भुजेलले भट्ट विरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका हुन् ।
विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी भन्दै उत्प्रेषणको आदेशले बदर माग गर्दै रिटमा निष्पक्ष अनुभवी, दक्ष, स्वच्छ छवि भएका योग्य व्यक्तिलाई छनोट एवं सिफारिस गरी नियुक्ति गर्नु भनी सरकार र सिफारिस समितिको नाममा परमादेशलगायतका उपयुक्त आदेश दिन माग गरिएको छ ।


रिटको अन्तिम टुंगो नलागेसम्म भट्टलाई लगानी बोर्डको सीईओ नियुक्ति गर्ने मन्त्रिपरिषद बैठकको साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि माग गरिएको बताइएको छ । बिचौलिया पृष्ठभूमीका भट्टमाथि विभिन्न विदेशी कम्पनीको एजेन्ट बनी सरकार र सत्तारुढ दललाई प्रभावित पारेर जलविद्युत आयोजनाको जिम्मा लिने र निर्माण नगरी अलपत्र छाड्ने गरेको आरोप लागेको छ ।