अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने ललितपुर महानगरको निर्णय

होमल्याण्ड खबर

२०७७ श्रावण २८ गते, बुधबार २१:०० मा प्रकाशित

काठमाडौ । काठमाडौ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि ललितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्ण गरेको छ । महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । यसअघि काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरुको मेयरहरुको संगठन नगरपालिका मेयर्स फोरमको बैठकले स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । महानगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कन परे पनि अनिवार्यरुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । आज एकै दिन  उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौमा १०७,ललितपुरमा २३ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।