थप ५२५ जनामा कोरोना संक्रमण : १०९ डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ श्रावण २९ गते, बिहीबार १६:५७ मा प्रकाशित

काठमाडौ । नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५२५ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमको भनाई छ ।

पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन् । योसँगै अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको  छ । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको गौतमको भनाई छ ।  ७३ पुरुष र २२ महिलाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।