लिदी पहिरो अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

होमल्याण्ड खबर

२०७७ श्रावण ३१ गते, शनिबार १२:१४ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमापहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार नै ११ जनाको शव निकालिएको थियो । उनीहरुको सनाखत भइसकेको र सदगदको प्रक्रियामा गइसकेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

लिदीको तामाङ वस्तीका केही व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।