तीन दिन देशभर वर्षा हुने

होमल्याण्ड खबर

२०७७ श्रावण ३२ गते, आईतवार १२:४० मा प्रकाशित

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेर देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना देखिएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव सात डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।