१० जेष्ठ २०८३, आईतवार
काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा सात जनाको कोरोनाबाट ज्यान गएसँगै मृत्यु हुनेको संख्या ११४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाका एक महिला रहेका गौतमले बताए ।


नेपालमा आज पहिलो पटक एकै दिन एक हजार भन्दा धेरै ब्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
आज एकै दिन काठमाडौ उपत्यकामा थप २०५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।