९ मंसिर २०८१, आईतवार
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी भएको निषेधाज्ञा अवधिमा कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ।
निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नखोल्ने घोषणा गरेको थियो । त्यसलगतै प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।
कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले जानकारी दिए । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने उनको भनाई छ ।
नेपाल बैंकर्स संघले भने अहिले नै प्रहरीको विश्वास गरी हाल्न नसकिने बताएको । हिजो नरोक्ने भनेपनि आज रोकिएको भन्दै बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लिखित रुपमै आए सजिलो हुने बताए ।