आज दर खाने दिन

होमल्याण्ड खबर

२०७७ भाद्र ४ गते, बिहीबार १४:११ मा प्रकाशित

काठमाडौ : नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज (बुधबार) दर खाइँदैछ । भाद्र शुक्ल द्धितियाको अघिल्लो दिन तीजको निराहार ब्रत बसी शक्ति प्राप्त होस् भन्ने उदेश्यका साथ महिलाहरुले दर खाने पुरानो चलन छ । दर खाएको भोलिपल्ट नारीहरु दिनभर पानी समेत नखाइकन निराहार ब्रस बस्ने गरेका छन् ।

उनिहरू नाचगान गरेर रमाइलो गर्दै मिठा परिकारका साथमा दर खाने चलन पहिले देखि चलि आएको छ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने परम्परा छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुने गरेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा उठेर दर खाने गरिन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै तीजमा ब्रत बस्ने चलन रहेको छ ।

तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण नेपाली महिलाहरुको तीज खल्लो हुने भएको छ । एकअर्कामा भेटघाट र सामूहिक रुपमा कार्यक्रमहरु गर्न सरकारले रोक लगाएको छ । विगतमा तामझामका साथ सामूहिक रुपमा दर खाने र तीज मनाउने गरिन्थ्यो । यस वर्षभने महामारीका कारण आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।