१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ ।
गत पाँच वर्षमा भए –गरेका काम र अनुभवहरु आदान प्रदान गर्न सोमबारबाट तीन दिनसम्म चल्ने गरी परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदान प्रदान गर्ने भएको हो ।


भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्राधिकरणका कार्यकारी समिति सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा ५३ ओटा सोधपत्रहरु रहेको बताउँदै उनले हाउजिङ, ग्रामीण घर, सहरी घर निर्माण गर्दाका समस्या र चुनौतीकाबारेमा जानकारी दिइने बताए ।
विषयगत क्षेत्रहरु निजी आवास पुनःनिर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनःनिर्माण, साँस्कृतिक सम्पदा पुनःनिर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासनबारे छलफल समेत छलफल हुने उनको भनाई छ ।
प्राधिकरणले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।