निषेधाज्ञाको पाँचौ दिन काठमाडौँ उपत्यका सुनसान

होमल्याण्ड खबर

२०७७ भाद्र ८ गते, सोमबार १०:१४ मा प्रकाशित

काठमाडौं। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज पाँचौ दिन पनि सडक सुनसान देखिएको छ । एक साताका लागि गरिएको निषेधाज्ञाका कारण आज पनि काठमाडौंको जनजीवन ठप्प छ । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ छन् । सडकमा तैनाथ प्रहरी लकडाउनमा भन्दा कडाइका साथ प्रस्तुत भएका छन् ।

सडकमा अत्यावश्यक बाहेकका सवारीसाधनलाई गुड्न दिइएको छैन । सडकमा एम्बुलेन्स, खाद्यान्न खानेपानी, विद्युत, सञ्चार, तरकारी तथा फलफुल बोकेका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।

उपत्यकामा दैनिकजसो १ सय भन्दा धेरै कोरोना संक्रमित देखिन थालेपछि सरकारले कडाइ गरेको थियो। निषेधित क्षेत्र घोषणा गरेर मानिसलाई घरमै रोक्न सकेमा कोरोना समुदायसम्म पुगेर भयावह रुप नलिने विश्‍वासमा सरकार रहेको छ । कोरोना जोखिम न्युनिकरणको लागि भन्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएदेखि यता ५ हजारभन्दा धेरै गाडीलाई होल्ड गरिएको छ । सङ्क्रमणदर बढ्दै जाँदा अतिआवश्यक गाडीबाहेक अरुलाई कडाइ गरिएको महाशाखाका सूचना अधिकारी एसपी बामदेव गौतमले जानकारी दिए। होल्डमा राखिएका गाडीलाई बेलुकी ८ बजे मात्रै छाड्ने गरिएको छ । सरकारले अनावश्यक घरबाट बाहिर ननिस्कन, निस्कनै परे स्वास्थ्यका मापदण्ड पालना गर्न र सुरक्षित बन्न आग्रह गरिरहेको छ । यस्तै निषेधाज्ञाको अवज्ञा गर्ने क्रम बढेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ ।