काठमाडौँ उपत्यकामा भदौ १५ सम्म स्थानीय तहका अत्यावश्यक बाहेकका काम बन्द

होमल्याण्ड खबर

२०७७ भाद्र ८ गते, सोमबार १७:१९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यका नगरपालिका फोरमले भदौ १५ गतेसम्मका लागि स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

उपत्याकामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

कोरोना संक्रमितको दर बढेपछि काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ,भक्तपुर र ललितपुरमा भदौ ३ गते मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भएको आज पाँचौ दिन पनि सडक सुनसान देखिएको छ । निषेधाज्ञाका कारण काठमाडौंको जनजीवन ठप्प रहेको छ । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ छन् । सडकमा तैनाथ प्रहरी लकडाउनमा भन्दा कडाइका साथ प्रस्तुत भएका छन् ।

सडकमा अत्यावश्यक बाहेकका सवारीसाधनलाई गुड्न दिइएको छैन । सडकमा एम्बुलेन्स, खाद्यान्न खानेपानी, विद्युत, सञ्चार, तरकारी तथा फलफुल बोकेका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।