१० जेष्ठ २०८३, आईतवार
वीरगञ्ज। कोरोना संक्रमणबाट बारामा थप एक जनाका मृत्यु भएको छ । सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।
संक्रमित महिलाको ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएको उनको उपचारकै क्रममा बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।


यसअघि कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको थियो । धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाले जानकारी दिए । गत ८ गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । उनमा निमोनिया समेत समेत देखिएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।वीरगञ्जमा मृत्यु भएका ४४ जनामध्ये ३२ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।