१० जेष्ठ २०८३, आईतवार
धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष ,मोरङको बेलबारी–५ की ५६ वर्षीया महिला र सिराहा नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । उनिहरुको गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।


अत्यधिक खोकी,ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि दमक ती पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोडभर्ना भएका थिए । उनलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोही दिन देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो ।
यसैगरी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन्।उनमा पनि अत्यधिक खोकी ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको डा.सापकोटाले बताए। ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
यस्तै सिराहा जिल्ला सिराहा नगरपालिका २ का ५५ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गत भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि पछि कोभिड अस्पतालमा भर्ना भएका उनको उपचार क्रममा मृत्यु भएको प्रतिष्ठानले बताएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।