पोखरामा निषेधाज्ञा खुकुलो,सवारीमा जोर–बिजोर प्रणाली

होमल्याण्ड खबर

२०७७ भाद्र १२ गते, शुक्रबार १८:२१ मा प्रकाशित

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा खुकुलो पारेको छ । प्रावधानहरु खुकुलो बनाउँदै भदौ २० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको हो ।

शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा भदौ २० गतेसम्म जोर बिजोर प्रणाली अनुरुप ट्याक्सी र निजी सवारी साधन चलाउने छुट दिएको छ तर सार्वजनिक यातायातमाथिको बन्देज कायमै राखिएको छ। ती सवारी साधन बिहान ६ बजेदेखि रातको ८ बजेसम्म मात्रै चल्न पाउनेछन्।

सरकारी तथा गैरसरकारी कार्यालयहरु एवं बैंक तथा वित्तीय संस्थाले यो अवधिमा सामाजिक दूरी कायम गर्दै संचालन स्वीकृति पाएका छन्।

यसैगरि यो अवधिमा साँझ ७ बजेसम्म ‘टेक अवे’ अर्थात् खानेकुरा लैजान मिल्नेगरि रेस्टुरेन्ट संचालनको स्वीकृति दिइएको छ। निर्माण क्षेत्र तथा उद्योगहरुहरुले कामदार तथा सेवा प्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका काम गर्न पाउने भएका छन्।

भीडभाड हुने पार्टी प्यालेस, स्कूल र कलेज, फनपार्क, रंगशाला,ब्यूटीपार्लर, सैलुन, फिटनेस सेन्टर, स्वीमिङ पुल, फुटसललगायतका क्षेत्रमाथिको प्रतिबन्ध कायमै राखिएको छ।

जात्रा, महोत्सव, सामाजिक तथा सांस्कृतिक कार्यक्रममाथिको प्रतिबन्ध पनि कायमै छ। शुक्रबार १२ बजे रातिसम्मको लागि लगाइएको निषेधाज्ञाको समयावधि सकिनुअघि कास्की प्रशासनले नयाँ सूचना जारी गरेको हो।