एक जना सङ्क्रमितले ३ हजारसम्म सङ्क्रमण फैलाउन सक्छ

होमल्याण्ड खबर

२०७७ भाद्र १४ गते, आईतवार १९:१४ मा प्रकाशित

काठमाडौंःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन् । गत २४ घण्टामा १ हजार २२१ जना सङ्क्रमित फेला परेका छन । तिमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले मृत्यु  भएको छ ।

उनले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आआफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गरे । एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकाले सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

समन्वय गरेर मात्र रिफर गर्न निर्देशन

मन्त्रालयले सङ्क्रमितको रिफर जथाभावी गरिएको पाइएकाले समन्वय गरेर मात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकाले समन्वय गर्न निर्देशन दिइएको जानकारी दिए । उनले भने “यसरी समन्वय नगरी पठाइएका बिरामीको ज्यान तलमाथि पर्न गएर रिफर गर्ने अस्पताल नै जिम्मेवारी हुनुपर्ने छ ।”

नभाग्न आग्रह

क्वारेन्टिन, आइसोलेशन र अस्पतालबाट भाग्ने गरेको खबरप्रति दुःख व्यक्त गर्दै उपचारमा रहेका सङ्क्रमित भाग्नु खतरा रहेको उनले बताए । उनले आफू, समाज र आफ्ना परिवारलाई सङ्क्रमणबाट जोगाउनका लागि नभाग्न आग्रह गरे ।सङ्क्रमण फैलन नदिनका लागि सङ्क्रमितका लागि क्वारेन्टिन, अस्पताल र आइसोलेशन नै एक मात्र एउटा उपाय रहेको उल्लेख गरे । उनले ति ठाउँ भएका सेवा सुविधा सुधार गर्दै जान जिम्मेवार निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको जानकारी दिए।