१० जेष्ठ २०८३, आईतवार
काठमाडौं : कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको पहिचान तथा ठेगाना सार्वजनिक रुपमा प्रकाशित नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ताहरु रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेलेले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गोपनीयता कायम राख्न निर्देशन दिएको हो ।
फैसला गत साउन २१ गते भए पनि त्यसको पूर्णपाठ हालै सार्वजनिक भएको हो । विवरण सार्वजनिक गर्दा जोखिममा रहेका वर्गहरुमाथि हुन सक्ने गलत कार्य तथा लान्छनाबाट जोगाउनु र समाजनमा गलत सूचना जानबाट रोक्नु अत्यावश्यक रहेकाले संक्रमित तथा मृतकको व्यक्तिगत विवरण सार्वजनिक गर्न नहुने सर्वोच्चको फैसलामा उल्लेख गरिएको छ ।


सर्वोच्चले सरकारका नाममा जारी गरेको परमादेशमा भनिएको छ,—‘विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिकाहरु लगायतका सञ्चार माध्यममा कोभिड–१९ का संक्रमित व्यक्तिहरुको सहमति बेगर व्यक्तिगत पहिचान खुल्ने विवरणहरु (संक्रमण वा मृत्यु हुँदाका बखत बसोबास गरेको स्थान र स्थायी ठेगाना) छाप्ने वा सार्वजनिक गर्ने कार्य बन्द गर्नु गराउनु ।’