१० जेष्ठ २०८३, आईतवार
काठमाडाैं । असोज १५ गतेदेखि देशभरका विमानस्थलमा आन्तरिक उडान खुला हुने भएका छन् । सरकारले १५ असोजदेखि देशभरका विमानस्थलमा आन्तरिक उडान खोल्ने तयारी गरेको हाे।
तर, पर्यटन मन्त्रालयले भने १ असोजदेखि हिमाली र पहाडी क्षेत्रमा उडान खोल्नुपर्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । एयरलाइन्स कम्पनीहरूले भने १ असोजदेखि उडान नखोले आन्दोलन गर्ने र कम्पनीको चाबी सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबैसँगको छलफलमा १५ असोजबाट आन्तरिक उडान खुलाउनेमा सहमत भएको बताए । दसैँ र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।
मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गराउने प्रयास भएको छ ।
मन्त्रालयले विदेशबाट नेपालमा काम गर्न आउन नपाएका कामदारलाई समेत खोल्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । कामदार रोकिँदा भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ प्राविधिक रोकिएका छन् ।