गुणस्तरहीन स्यानिटाइजर उत्पादक ५ कम्पनीलाई कारवाही

होमल्याण्ड खबर

२०७७ भाद्र २७ गते, शनिबार १४:०० मा प्रकाशित

काठमाडौंः मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्डविपरित विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्ति सहितको जरिवाना र बन्द गर्ने तयारी गरेको गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गरेको ’इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गरेको ’एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गरेको ’इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ’सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको विभागले जनाएको छ । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचना मार्फत आग्रह समेत गरेको छ ।

यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको छ । उक्त कम्पनीको उत्पादन भने विभागले यसअघि नै बन्द गरिसकेको छ । विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको ’इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।

कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले जनाएको छ । ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐन अन्तर्गत कारबाही गरिने केसीले बताए ।