लोडसेडिङ भए तत्काल खबर गर्न उर्जा मन्त्रालयको आग्रह

होमल्याण्ड खबर

२०७७ आश्विन ५ गते, सोमबार ११:४३ मा प्रकाशित

काठमाडौं । कुनै जानकारीबिना लोडसेडिङ भएमा तत्काल खबर गर्न उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले आग्रह गरेको छ। पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन्।

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको समेत उनले उल्लेख गरेका छन्।

प्रेस संयोजक भट्टले फेसबुकमा लेखेका छन् यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छ ।