बलात्कारीलाई मृत्युदण्डको सजाय माग्न महिला सांसदको एक स्वर

होमल्याण्ड खबर

२०७७ आश्विन १३ गते, मंगलवार ११:१३ मा प्रकाशित

महिला सांसदहरुले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा सोमबार बलात्कारका घटना बढेको विषयमा छलफल गर्दै महिला सांसदहरूले बलातकारीलाई कडा सजाय गर्नुपर्नेमा एकै स्वरमा जोड दिएका हुन् । १५ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने र नपुंसक बनाउने गरी कानुन बनाउनुपर्नेमा उानीहरुले जोड दिएका छन् । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने बताइन् । उनले यसका लागि विधान संशोधन गर्नु पर्ने बताउँदै सो व्यवस्था राख्‍न अन्तर्राष्ट्रिय सन्धि-सम्झौता परिमार्जन गर्न सकिने पनि बताइन् ।

यस्तै नेकपाकी सचेतक शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने धारणा राखिन् । उनले दैनिकजसो बलात्कारका घटना भइरहेको भन्दै मृत्यु दण्ड वा लिंग छेदन गर्नुपर्ने व्यवस्थाबारे सोच्नुपर्ने बताइन् । अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानुन हुन्छ कि, लिंग छेदन गर्ने हुन्छ । के गर्न सकिन्छ बनाऔं, सांसद चौधरीले भनिन् । त्यस्तै छलफलमा सहभागि अन्य महिला सांसदले पनि बलात्कार गर्नेमाथि कडा कारबाहीको माग गर्दै सोहीअनुसारको कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।