मोरङमा कोरोनाबाट थप २ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ आश्विन १५ गते, बिहीबार १२:४९ मा प्रकाशित

मोरङः कोरोना संक्रमणबाट मोरङ कारागारका एक कैदीसहित दुई जना मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा १० महिनादेखि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका इटहरी नगरपालिका ४ घर भएका २७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बुधबार साँझ श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको मोरङ कारागारका प्रमुख सुभाष लामिछानेले जानकारी दिए । उनको उपचारको क्रममा बुधबार राति साढे ८ बजे मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले बताए । उनको मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको यादवले बताए ।

यस्तै होम आइसोलेसनमा बसेका उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया कोरोना संक्रमित वृद्धाको आज (बिहीबार) बिहान मृत्यु भएको छ । कोरोनासँग मिल्दो लक्षण देखिएपछि परिवारजनले वृद्धालाई उपचारका लागि विराट मेडिकल अस्पतालमा भर्ना गराएका थिए । अस्पतालले भर्ना गरी स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

वृद्धाको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले  वृद्धालाई घरमै लगेर राख्न परिवारलाई सुझाव दिएको थियो । मृतकका परिवार अहिले क्वारेन्टाइनमा बसेकाले नेपाली सेनाको टोलीले मृतकको शव व्यवस्थापनको कार्य गरेको राईले बताए ।