चाडपर्वसँगै अब गाउँघर काेराेना सङ्क्रमणको जोखिममा

होमल्याण्ड खबर

२०७७ आश्विन १८ गते, आईतवार ११:२० मा प्रकाशित

काठमाडौं । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।

अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सङ्क्रमित सङ्ख्या पनि ह्वात्तै बढेको छ । अब तीनै मानिस गाउँघरमा जाँदा सङ्क्रमण फैलिने डर रहेको छ । चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन् । विद्यालय, कलेज बन्द भएका बेला कतिपय विद्यार्थी घर गइसकेका छन् भने अब केही जाने तयारीमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

कोभिड–१९ का फोकल पर्सन महेन्द्र श्रेष्ठले चाडपर्वसँगै जोखिम गाउँतिर बढ्ने बताए । उहाँले उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए त्यहाँ रहेका वृद्धावृद्धा, साना बालबालिका, दीर्घरोगी, सुत्केरीलगायतमा जोखिम बढ्ने बताए । यही कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैँ शुरु हँुदैछ । त्यसलगत्तै तिहार र छठपर्व शुरु हुँदैछ ।

नेपालमा अहिले सङ्क्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तैपनि अहिले केही जिल्लामा वर्ग विशेष (क्लस्टर)मा सङ्क्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ । “यसपटक चाडपर्व हामी जहाँ छाँै, त्यही बसेर मनाए हुन्छ । हामी चाडपर्वमा घर गयौँ भने घरमा रहेका बुढा आमाबुबा, साना बालबालिका र दीर्घरोगीलाई सङ्क्रमणको जोखिम हुन्छ”, श्रेष्ठले भने, “बरु यसपटक टीका नलगाए केही हुँदैन, खोप आएपछि अर्को वर्ष टीका लगाउँदा हुन्छ ।”

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैँ अर्को वर्ष पनि आउने भएकाले भीडभाड नगरी मनाउन अनुरोध गरेका छन् । उनले दशैँका बेला उच्च सङ्क्रमण भएको जोखिम ठाउँबाट गाउँ जाने भएकाले गाउँतिर सङ्क्रमण सर्ने बताए । “दशैँको बेला कोभिड–१९ को उच्च सङ्क्रमणको ठाउँबाट टीका थाप्न गाउँगाउँ जाँदैछाैँ। एकपटक सोचौँ कतै हामीले कोरोना त बोकेर गएका छैनौँ”, उनले भने, “ज्येष्ठ नागरिकसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । उनीहरुलाई सङ्क्रमण भएको बेला अस्पतालमा राखेर विशेष उपचार गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्वको बेला घर जाँदा विशेष ख्याल गर्नुपर्दछ ।”

मन्त्रालयका प्रवक्ता डा गौतमले दशैँमा घर गइसकेपछि बूढाबूढीसँग कम्तीमा दुई मिटर टाढा बस्नुपर्ने, अँगालो हाल्ने, हात समाउने काम नगर्न र उनीहरुको नजिक जाँदा जहिले पनि मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले दशैँमा घर जाँदा शहरबजारबाट सङ्क्रमण लिएर जाने भएकाले गाउँ जोखिम हुने बताए । उनले दशैँमा आफूभन्दा मान्यजनसँग टीका थप्दा टाढैबाटै बसेर थाप्नसमेत अनुरोध गरे । उनले बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने बताए ।

महागरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले धेरै मानिस पहिल्यै गइसकेकाले यसपटक कम मानिस चाडपर्वमा जाने बताउँछन् । उनले अहिले दैनिक २१ हजार मानिस घर गइरहेको जानकारी दिए । उनले चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको बताए । उनका अनुसार यही असोज १ गतेदेखि अहिलेसम्म तीन लाख १५ हजार मानिस घर गइसकेका छन् ।