१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । भक्तपुरमा एकजना १७ वर्षीया किशोरी ३ जना युवाबाट सामूहिक बलात्कारको शिकार भएकी घटना सार्वजनिक भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा रोकिएर राखिएको बा ३ ख २६१२ नम्बरको बसमा १७ वर्षीया किशोरीमाथि ३ जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले सामूहिक बलात्कारमा संलग्नमध्ये २ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सूर्य श्रेष्ठ छन् । युवतीमाथि सामूहिक बलात्कार भएको बा ३ ख २६१२ नम्बरको बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय खड्का बसका चालक रहेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटना शनिबार साँझ ४ देखि ५ बजेको बीचमा भएको हो । आरोपीहरुले किशोरीलाई काठमाडौंको रत्नपार्कबाट भक्तपुर लगेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रत्नपार्कबाट भक्तपुर लगेर लठ्याउने औषधि खुवाएर आफूमाथि पालैपालो ३ जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बयान दिएकी छन् ।
पीडित किशोरी ३ जनाको समूहबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिइन् । बलात्कारमा संलग्नमध्ये अर्का १ जनाको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।