१० जेष्ठ २०८३, आईतवार
सुर्खेत । कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक गुलावजंग शाह जिम्मेवारीमुक्त भएका छन् । प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।
मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारी मुक्त गरिएको पत्र थमाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्रिय बनेका प्रमुख सचेतक शाहलाई मुख्य मन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीले हटाएका हुन्।


सोमवार प्रमुख सचेतक शाहलाई हटाएर सो ठाउँमा सीता नेपालीलाई जिम्मा दिएका छन् ।
संसदीय दलका नेता एवं मुख्यमन्त्री शाही विरुद्ध संसदी दलमा अविश्वासको प्रस्ताव पेश भएसँगै कर्णाली प्रदेशसहित सिंगो नेकपाको राजनीतिक वृत तरंगित भएको छ ।
छापामार शैलीमा शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै आज नेकपाका अध्यक्षद्वय बीच भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशमा देखिएको समस्या मिलाउन आग्रह गरेका छन् । त्यस्तै उनले वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि त्यस्तै आग्रह गरेका छन् ।
मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु अधिकांश जसो पूर्व एमाले खेमाका रहेका छन् । जसमा ओली नेपाल पक्षका नेताहरु रहेका छन् । उनीहरुलाई पूर्व माओवादीका केही सांसदले पनि साथ दिएका छन् ।