हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

होमल्याण्ड खबर

२०७७ कार्तिक २४ गते, सोमबार १५:५३ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए । शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए । यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।