अन्तर्रािष्ट्रय मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्डले बराबरी खेले

होमल्याण्ड खबर

२०७५ जेष्ठ २१ गते, सोमबार ०५:३५ मा प्रकाशित

विश्वकपअघिको अन्तर्रािष्ट्रय मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्डले एक एक गोलको बराबरी खेलेका छन् ।
स्पेनको घरेलु मैदानमा भएको खेलमा उसले अग्रता लिएको थियो, तर म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डि जियाले गल्ती गर्दा स्वीट्जरल्याण्डले बराबरी गोल फर्काउने मौका पायो ।
पहिलो हाफको २९औं मिनेटमा अल्भारो ओद्रियोसोलाले गोल गरेपछि घरेलु टोली स्पेनले अग्रता लिएको थियो । उनले डेभिड सिल्भाको पास सदुपयोग गरेका थिए ।
तर, दोस्रो हाफमा स्पेनले गोल खान पुग्यो । ६२औं मिनेटमा गोलरक्षक डि जियाले नियन्त्रणमा लिन नसकेको बललाई स्वीट्जरल्याण्डका रिकार्डो रोड्रिगेजले गोलमा परिणत गरेका थिए ।
सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेनले त्यस प्रतियोगितामा स्वीट्जरल्याण्डसँग मात्रै पराजय ब्यहोरेको थियो । पहिलो खेल हारे पनि स्पेन त्यसपछिका सबै खेल जितेर विश्व विजेता बनेको थियो ।
गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा अर्र्जेिन्टनालाई ६÷१ ले हराएको स्पेनले स्वीट्जरल्याण्डबिरुद्ध पनि दवाव कायम गरेको थियो । तर, पाएका केहि अबसरहरु उसले सदुपयोग गर्न सकेन । विश्वकपअघि स्पेनले अर्को मैत्रीपूर्ण खेल आगामी शनिबार ट्युनिसियासँग खेल्नेछ ।
स्पेन विश्वकपमा समूह बी मा परेको छ । यो समूहमा पोर्चुगल, मोरक्को र इरान छन् ।
गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलमा कोष्टारिकाले उत्तरी आयरल्याण्डलाई तीन शून्यले हरायो । उसको जितमा भेनेगास, च्याम्पबेल र काल्भोले एक एक गोल गरे ।
त्यस्तै साउदी अरव पनि पेरुसँग तीन शून्य गोलले नै पराजित भयो । पेरुका लागि गुरेरोले २ गोल गर्दा कारिल्लोले एक गोल गरे ।
सान्तोष रामिरेजको एकमात्र गोलमा मेक्सिकोले पनि स्कटल्याण्डलाई एक शून्य गोलले हरायो ।