छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

होमल्याण्ड खबर

२०७७ मंसिर ४ गते, बिहीबार १३:२७ मा प्रकाशित

छठ पर्वको आज दोस्रो दिन ब्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन बिहीबार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । ४ दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलाहार ग्रहण गरिन्छ ।

माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने छन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदाे सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । यसलाई मिथिलामा ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने परम्परा छ ।