८ जेष्ठ २०८३, शुक्रबार
सवारी करसम्बन्धी सबै कार्यालय खोलिरहेका प्रदेश सरकारले सवारी अनुमतिपत्र ‘लाइसेन्स’ तत्काल नखोल्ने बताएका छन्। यातायात व्यवस्था विभागले तिहारलगत्तै लाइसेन्सको परीक्षा खुल्ने बताए पनि प्रदेश सरकार भने तत्काल खोल्न तयार नभएका हुन्।
गत वर्ष चैत ११ देखि लकडाउनका कारण बन्द भएको लाइसेन्ससम्बन्धी परीक्षा अहिलेसम्म खुल्न नसकेको हो। लाइसेन्सका लागि अनलाइन फारम खोल्न यातायात व्यवस्था विभाग तयार भए पनि प्रदेश सरकारले अहिले परीक्षा लिन तयार नभएको जवाफ दिएका छन्। प्रदेश सरकारले लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएको सवारी चालक अनुमतिपत्रको लागि परीक्षा गराउन सहज नभएको बताएका छन्।


सबैभन्दा बढी सवारी सञ्चालन हुने वाग्मती प्रदेशले अझै १ महिना लाइसेन्सको परीक्षा नखुल्ने जानकारी दिएको छ। वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले वाग्मती प्रदेशमा कोभिडको जोखिम बढी भएकाले तत्काल लाइसेन्सको परीक्षा खुल्ने अवस्था नभएकाे बताए ।
‘अहिले लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कुनै तयारी छैन। वाग्मती प्रदेशमा १ महिनाअघि लाइसेन्सको परीक्षा हुँदैन’, सिंहले स्पष्ट पारे।
सवारी चालक अनुमतिपत्रको आवेदन पर्दा अत्यधिक चाप हुने लुम्बिनी प्रदेशले पहिला फर्म भरेका परीक्षार्थीको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरे पनि तत्काल नयाँ खुल्ने सम्भावना कम रहेको बताएको छ।