पहिरोपछि नारायणगढ मुग्लिन सडक एकतर्फी

होमल्याण्ड खबर

२०७५ जेष्ठ २२ गते, मंगलवार ०८:०७ मा प्रकाशित

मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ ।
राति परेको पानीका कारण बिहान ४ः५५ बजे यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ । अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताए । नारायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ ।