आजबाट चिडियाखाना अवलाेकन गर्न पाइने

होमल्याण्ड खबर

२०७७ मंसिर २५ गते, बिहीबार १२:०४ मा प्रकाशित

काेराेना भाइरसकाे संक्रमणपछि भएकाे लकडाउनका कारण बन्द भएकाे जावलाखेलस्थित सदर चिडियाखा आजबाट अवलाेकनका लागि खुला हुने भएकाे छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी चिडियाखाना खुला गरिने भएकाे हाे । चिडियाखाना अवलोकनका लागि अनलाइनमार्फत पनि टिकट लिन सकिने छ भने प्रवेश गर्दा मास्क अनिवार्य गरिएकाे छ । प्रवेश द्वारमा सेनिटाइजर राखिएकाे चिडियाखानाले जनाएकाे छ ।

काेराेना संक्रमणकाे अवस्थालाई मध्यनजर गरी एकपटकमा बढीमा ८ सय जनाले मात्र प्रवेश पाउने छन् । त्यसपछि भित्रका मानिस बाहिरिएपछि मात्रै अन्य व्यक्तिले प्रवेश पाउने बताइएकाे छ ।

चिडियाखाना अवलाेकनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मकाे समय ताेकिएकाे छ । तर भित्र प्रवेश गरेकाे व्यक्ति डेढ घन्टाभित्र अवलाेकन गरेर फर्किनुपर्ने छ ।

विदेशी नागरिकका लागि ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका व्यक्तिका लागि ५ सय, नेपालीलाई १ सय ५० तथा विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।