८ जेष्ठ २०८३, शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक बिदा हप्तामा २ दिन दिने गरी प्रारम्भिक निष्कर्ष निकालेको छ।
सार्वजनिक बिदा हप्तामा २ दिन गर्ने सम्बन्धमा गठित समितिले २ दिन उपयुक्त हुने निष्कर्षसहित प्रारम्भिक मस्यौदा तयार पारेको पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताए।


भट्टराईको संयोजकत्वमा करिब २ महिनाअघि गठित समितिले बिदा २ दिन हुँदा कार्यदक्षता बढ्नुका साथै उत्पादकत्व पनि बढ्न जाने र खर्च कटौतीमा योगदान दिने भनिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘विविध पक्षमा गरिएको विश्लेषणबाट हप्तामा २ दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाको उत्पादनकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुनेछ।’
यस्तै, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले सकारात्मक प्रभाव पर्न जाने देखिएकाले सार्वजनिक निकायमा हप्तामा २ दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न उपयुक्त हुने भनि उल्लेख गरिएको छ।
नेपालमा सार्वजनिक क्षेत्रका कर्मचारीलाई आइतबारदेखि बिहीबारसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म र शुक्रबार १० देखि ३ बजेसम्म गरी हप्तामा ४० घण्टा कामको अवधि तोकिएको छ भने सार्वजनिक क्षेत्रको यस अभ्यासलाई प्रायः सबै प्रकारका निजी संस्था तथा कम्पनीले अवलम्बन गरेको पाइन्छ।