१० मंसिर २०८१, सोमबार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा डेभ ह्वाटमोर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको रुपमा विश्वकप विजेता ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सिफारिस गरेर पठाएको थियो । आज एक विज्ञप्ति जारी गर्दै क्यानले ह्वाटमोरको नियुक्ति पुष्टि गरेको छ ।
ह्वाटमोरको सम्झौता पहिलो चरणमा एक वर्षको हुनेछ । उनको मासिक तलब भने खुलाइएको छैन । उनको सबै खर्च हेर्दा १० हजार भन्दा बढी अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।
कुल ७२ जनाले नाम नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । जसमा १५ जनाको नाम अन्तरवार्तामा बोलाएको थियो ।
सन् १९५४ मार्च १६ मा कोलोम्बोमा जन्मेका ह्वाटमोर अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान समेत हुन् । उनले सन् १९७९ मार्चमा अष्ट्रेलियाबाट पाकिस्तानविरुद्ध मेलबर्नमा टेष्टमा डेब्यू गरेका थिए ।
ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एक दिवसिय विश्वकप जितेको थियो ।
यस्तै इन्डियन प्रिमियर लिग (आइपिएल) २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा समेत उनले काम गरिसकेका छन् ।