ओलीको कदमले पार्टी एकतालाई कुनै असर गर्दैनः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७७ पुष ६ गते, सोमबार १२:०० मा प्रकाशित

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन्। आज विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतावद्व भएको र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले पार्टी एकतालाई कुनै तात्विक असर नगर्ने स्पष्ट पारेका छन् ।

उनले नेकपा अध्यक्ष समेत रहेका ओलीलाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक अलोकतान्त्रिक,निरंकुश,पश्चमगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटी बैठकले विरोध गरी पूर्ण रुपमा अस्वीकार गर्ने निर्णय भएको उनले बताए ।

नेपाली जनताको ठूलो त्याग र बलिदानपूर्ण सङघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीनितक परिवर्तनको रक्षा गर्नु आजको कार्यभार भएको अध्यक्ष प्रण्डको भनाइ छ ।