नेकपा नामकाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित

होमल्याण्ड खबर

२०७७ पुष १४ गते, मंगलवार १२:३१ मा प्रकाशित

सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली-दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो ।

पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ । मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर  सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले  जानकारी दिए ।