१७ श्रावण २०८३, आईतवार
राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ।
विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो।


विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आउनुभएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए।
उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए।
बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आउनुभएका सिंह निकै मेधावी थिए।
चारपाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए।