डिम्याट खाताको संख्या साढे २४ लाख नाघ्यो, एकै दिन २२ हजारभन्दा बढीले बृद्धि

होमल्याण्ड खबर

२०७७ पुष २७ गते, सोमबार १४:२७ मा प्रकाशित

धितोपत्र कारोबाका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको छ । पुस २७ गते १ बजेसम्मको रेकर्डमा २४ लाख ५१ हजार १७३ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।

आइतबार मात्रै २२ हजारभन्दा बढी डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँछ । शुक्रवारसम्म २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेकोमा सोमवार यो संख्या २२ हजार ८३९ ले बढेको हो ।

हाल चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ निष्कासनमा रहेको छ । माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ करोड कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्दैछ ।

पछिल्लो समय दैनिक डिम्याट खाता खोल्नेको संख्या बढ्नुका प्रमुख कारण सबैको भागमा पर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओनै रहेको छ । प्राथमिक बजारमा निष्कासन हुने शेयर पाउन भाग्य भरोसा रहनुपर्ने अवस्थामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने सबै आवेदकलाई पर्ने निश्चित छ ।

यो सँगै धितोपत्र दोस्रो बजारले उच्च विन्दु कायम गर्दै अघि बढेकाले पनि धितोपत्र कारोबारमा लगानीकर्ताको आकर्षण बढेको हो । प्राथमिक बजारमा निष्कासित शेयरहरु दोस्रो बजारले गति लिएका कारण राम्रो मूल्यमा खरिद विक्री हुने गरेकाले पनि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो ।

साथै हाल सबै आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँटको व्यवस्थाले गर्दा पनि डिम्याट खाताको संख्यामा बृद्धि भएको छ । यी विविध कारणले गर्दा बढेको हितग्राही खाताको कारण शेयर कारोबार व्यवस्थित हुने अपेक्षा सिडिएससीको छ ।

अझै धेरै पुराना शेयरहरु कागजी रुपमै बोकेर मानिसहरु बसेकाले डिम्याट खोलेसँगै ती शेयरहरु अभौतिकीकरण हुनेमा पनि सिडिएससी आशाबादी रहेको छ । पूर्ण प्रविधिमैत्री बनिसकेको धितोपत्र प्राथमिक तथा दोस्रो बजारमा शेयरको काजगी प्रमाणपत्र पनि अनलाईन प्रणालीमा समेटिनुपर्ने भनाई सिडिएससीको हो ।