भारतले नेपाललाई १० लाख डोज कोरोना खोप दियो , भोलि काठमाडौं आइपुग्ने

होमल्याण्ड खबर

२०७७ माघ ७ गते, बुधबार १५:०२ मा प्रकाशित

 भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

बुधबार भारतले दिने खोपबारे थप जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले  मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

उक्त सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका हुन् ।

भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने उनले जानकारी दिएका छन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

भारतको विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको थियो ।