कोभिड–१९ विरुद्धको खोप आज सातवटै प्रदेशमा पुर्‍याइने

होमल्याण्ड खबर

२०७७ माघ ११ गते, आईतवार ११:३६ मा प्रकाशित

भारतले अनुदानमा दिएकाे कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगामी बुधबारबाट नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने छ । त्यसका लागि सातवटै प्रदेशमा आवश्यक मात्रामा  खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ ।

सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

पहिलो चरणमा उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।

२ मात्रामा दिइने खोप पहिलोपटक लगाएको १ महिना वा ४ हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन सुरु गरेको १ हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस २ डिग्री सेल्सियसदेखि माइनस ८ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।